Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

पर्याप्त जनशक्ति अभावमा चाहेजति विकास गर्न सकेनौँ  नारायण नगरपालिकाका प्रमुख खड्का 

         ||   306 Views   ||   Published Date : 18th July 2018 |

धमाका संवाद स्थानीय सरकार

दैलेखमा रहेका ११ वटा स्थानीय तहमध्ये सबैभन्दा पुरानो मानिएको नारायण   नगरपालिकाको स्थापना २०५३ सालमा भएको हो । नारायण नगरपालिकाको पूर्वमा भगवतीमाई गाउँपालिका, पश्चिममा दुल्लू नगरपालिका, उत्तरमा नौमुले गाउँपालिका र दक्षिणमा डुङ्गेश्वर गाउँपालिका पर्दछ ।  नारायण नगरपालिका भौगोलिक रूपले जिल्लाका अन्य स्थानीय तहहरूभन्दा पूर्वाधारयुक्त मानिन्छ यस नगरपालिकाको क्षेत्रफल ६७.०१ वर्ग किलोमिटर रहेको छ । २०६८ सालको जनगणना अनुसार यहाँको जनसंख्या २२ हजार ४६४ छ । २०५३ सालमा पहिलो पटक स्थापना भएको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का २० वर्ष पछिको स्थानीय निर्वाचनमा नगर प्रमुखका रूपमा निर्वाचित भएका छन् । नारायण    नगरपालिका भित्रका जनताका सबै समस्याका बारेमा जानकार रहेका खड्का जिल्ला सदरमुकाम दैलेख बजार नजिकै रहेको वडा नम्बर ७ किमुगाउँमा जन्मिएका हुन् ।  प्रस्तुत छ दैलेख जिल्लाको नारायण           नगरपालिकाका प्रमुख रत्नबहादुर खड्कासँग हाम्रा सहकर्मी उदयराज अधिकारीले गरेको कुराकानी ।

१.निर्वाचनका बेला तपाईले जनता सामु गर्नुभएका प्रतिवद्धता के–के थिए ?

संघीय संरचनामा मुलुक गइसकेपछि संविधान कार्यान्वयन गराउने सन्दर्भमा तीन तहको निर्वाचन सम्पन्न भयो । पहिलो निर्वाचनमा हामीले समृद्ध र    सुन्दर नगर निर्माणका लागि गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य, जातीय विभेदमुक्त नगर, लैंगिक समानता, पर्यटन विकासका पूर्वाधार निर्माण, सुशासन कायम, बेरोजगार युवाहरूलाई स्थानीयस्तरमै   रोजगारीको सिर्जना, कृषि तथा लघु उद्यमको माध्यमबाट नगरको आर्थिक समृद्धि कायम गर्ने उद्देश्यका साथ हाम्रा घोषणापत्रहरू लिएर जनता सामु गएका थियौं । हामीले जनता सामु गरेका प्रतिबद्धताका आधारमा निर्वाचन जितिसके पछि चुनावी प्रतिबद्धतामा टेकेर अहिले स्थानीय सरकार संचालन  गरिरहेका छौं ।

२.प्रतिबद्धताहरू कार्यान्वयनको अवस्था कस्तो छ ?

हामीले जनता सामु गरेका थुप्रै प्रतिबद्धताहरू छन् । हामीले कार्यभार सम्हालेको एक वर्ष पुगेको छ । एक वर्षको अवधिमा हाम्रा प्रतिबद्धतामा उल्लेख भएका सबै कुराहरू विविध  कारणले पूरा हुन नसके पनि कतिपय प्रक्रियामा छन् कतिपय नीति पारित पछि पूरा हुनेछन् । जनता सामु गरेका प्रतिवद्धताहरू क्रमिक रूपमा पूरा गर्दै जानेछौं । जनता सामु गरिएका प्रतिवद्धता तत्कालै पूरा गर्न पाए हामीले जनता सामु गरेका वाचाहरू पूरा भएका ठानिन्थ्यो हामीसँग वर्तमान अवस्थामा भएका स्रोत साधन र दक्ष प्राविधिक जनशक्तिको सहयोगमा जनतासँग गरेका प्रतिबद्धताहरू पूरा गर्न लागिपरेका छौँ । कतिपय कामहरू  पूरा गर्ने सन्दर्भमा आवश्यक स्थानीय कानुन निर्माण, कार्यविधि र निर्देशिकाहरू र केही पञ्चवर्षीय योजनाको खाका पारित गरेका छौं ।

३.स्थानीय चुनावी प्रतिवद्धता निर्वाचन जित्नकै लागि गरिएका हुन् या कार्यान्वयन गर्न ? 

चुनावी मैदानमा जाँदा कुनै न कुनै प्रतिबद्धताहरू लिएर जानुु नै पर्छ । त्यो स्वाभाविक प्रक्रिया नै हो । हाम्रो पार्टीबाट प्रस्तुत गरिएका प्रतिबद्धताले हामीलाई जिताउनु नै थियो । त्यो स्वाभाविक पनि हो । प्रतिबद्धता भनेको जितिसकेपछि कसरी नगर समृद्ध बनाउने, चुनौतीहरू कसरी पार गर्ने भन्ने सन्दर्भमा काम गर्न जरुरी थियो ।   चुनाव जितिसकेपछि नगरपालिकालाई समृद्ध पार्नका निमित्त तत्कालीन समयमा गरिएका प्रतिवद्धतामै टेकेर काम गर्ने एउटा रोडम्याप निर्माण गरिएको छ । हामीले भने अनुसार शुद्ध खानेपानी, विद्युत, सडक पूर्वाधारलगायतका विविध कामहरू भइरहेका छन् । अन्य प्रतिवद्धताहरू क्रमिक रूपमा कार्यान्वयनको चरणमा छन् ।

 ४.तपाईंले नगरपालिकाको प्रमुखको रूपमा पदवाहली गर्नुभएको एक वर्ष बित्यो । एक वर्षमा कस्ता चुनौतीहरू खेप्नुप¥यो ? अवसरहरू कस्ता आए ?

नगर संचालनका लागि दक्ष जनशक्तिको अभाव भयो ।अहिले पनि संघीय  संरचना अन्तर्गत कर्मचारी समायोजन गर्न संघीय सरकारले पनि  नसकिरहेको अवस्था  छ । जनताको विकासको चाहना तिव्र हुनु स्रोत साधनहरुको कमि हुनुले कहि कतै विरोधहरु पनि नभएका होइनन् हामी गल्ति गर्दैर्नौ जनताकै लागि काम गरेका छौं, परिणाम आएपछि           नगरबासीहरु खुशी हुनेछन् । नगर समृद्धिका निमित्त आवश्यक पर्ने कामहरू हामीले संचालन गरिरहेका छौँ ।  अवसरका कुरा गर्दा, बहुमत प्राप्त गरेर आफ्नो नगरमा निर्वाचित भएका थियौँ । त्यो भन्दा ठूलो समृद्ध नगर निर्माण गर्न नगरको शिक्षा, स्वास्थ्य सुलभ बनाउन, पर्यटन विकास, कृषि तथा लद्यु उद्यमको माध्यमबाट नगरबासीको आर्थिक उन्नति गर्ने एउटा ठूलो अवसर प्राप्त भयो । केही कुराको तालमेल नभएकाले हामीले चाहेजति लक्ष्य र उद्देश्य पूरा गर्ने गन्तव्यमा पुग्ने एउटा सपना देखेका  थियौँ । त्यो पूरा गर्न नसकिरहेको अवस्था छ ।  धैर्य के कुरामा गरिरहेका छौँ भने हामी पाँच वर्षका लागि निर्वाचित भएका हौँ । यो वर्षबाट  स्थानीय सरकार संचालन गर्न ऐन, नियम र कानुन पूरा हुनेछन् । सहकारी ऐन, शिक्षा ऐन, तिनका कार्यविधिहरू पास भइसकेका छन् । प्रमाणित  गरेर यो वर्षबाट लागु हुनेछन् ।

५.जिल्ला सदरमुकाममा रहेको अस्तव्यस्त सडक व्यवस्थित बनाउदै गर्दा आलोचना पनि उत्तिकै भयो किन ?  

हामी निर्वाचित भइसकेपछि लगत्तै ठूलो वर्षा भयो । वर्षातको समयमा बजार क्षेत्रमा हिँड्न सक्ने अवस्था थिएन ।  सदरमुकाममा हिँड्ने नागरिकहरू हातमा चप्पल समातेर हिँड्नुपर्ने अवस्था थियो । वर्षातको समयमा देवकोटाचोक देखि गणेशचोकसम्म जनतालाई हिँड्नका लागि केही सहजता होस् भनेर वर्षातको चुनौतीसँग जुध्न गत वर्ष केही बिग्रिएका स्थानमा सडक कालो पत्रे ग¥यौँ ।  अहिले दुई करोड ५० लाख र ६७ लाख रुपैयाँका छुट्टाछुट्टै टेन्डर गरेर तीनवटा कामहरू हामीले  ठेकेदाहरू मार्फत भइरहेका छन् । अव एक साता भित्र गणेश चौक बाहेक अन्य स्थानमा पक्की सडक र नाली बनिसक्ने देखिन्छ । काँडाचौरमा ग्याविन जालीको काम अगाडि बढिरहेको छ । सिमेन्ट मेसनरी वाल निर्माण गर्ने काम सम्पन्नको   तयारीमा छ  । सडक कालोपत्रे गर्ने काम पनि धमाधम भैइरहेको छ । यी कामहरु भईहरदा स्थानीय        नागरिकहरुले बारम्बार काम राम्रो नभएको भने बमोजिम सामग्री नहालिएको जस्ता विभिन्न गुनासाहरु बारम्बार आएका कारण हामीले निर्माण कम्पनी वा ठेकेदारहरूलाई ताकेता गरेर हाम्रा प्राविधिक  निरन्तर खटाएर सके सम्म गुणस्तर युक्त काम गरेका छौं ।सडक व्यवस्थित ढंगबाट निर्माण  गरेर नगरको मुहार फर्नेछौँ । त्यो कुरामा सफल हुन्छौँ भन्ने लाग्छ । नगरको बाटो लथालिंग हुने एउटा कारण दैलेख साहारे खानेपानी आयोजनाले बाटोको दुवैपट्टि खनेर पाइप बिच्छ्याउने कामले पनि नगरको बाटो लथालिंग भएको हो । उहाँहरूलाई बारम्बार ताकेता गरेर  सदरमुकामभित्रको खाने पानी समस्या समाधान भएको छ ।  हामीले दैलेखको पर्यटन विकासका लागि कोटिलामा मानवनिर्मित ताल निर्माणको काम थालनी गरेका छौँ । अहिले त्यसको डीपीआर सुरु भएको छ ।

६.तपाईं निर्वाचित भइसकेपछि गर्न नसकेका कामहरू के–के हुन ?

नगर सरकार प्रमुखले नगर समृद्धिका निमित्त दिनहुँ एकपछि अर्को काम गर्न सकेको भए जनताबाट थुप्रै स्याबसी पाउँथे । कतिपय कामहरू नगर सरकारको पहुँचभन्दा पर अथवा वित्तीय सहयोगको तथा प्राप्त अनुदानको आधारमा काम गर्न नसकिने केही आयोजना हरू पनि छन् । तीमध्ये नारायण चक्रपथ निर्माण गर्ने महत्वपूर्ण आयोजना छ । कृषि क्याम्पसका पूर्वाधार निर्माण र कृषि क्याम्पसका लागि सम्बन्धन प्राप्त  गर्ने । अर्को नारायण नगरपालिका–  १० मा  जडिबुटी उद्यान फर्म निर्माण गर्ने एउटा आयोजना छ । पर्यटन विकास नगर समृद्धिका निमित्त  राइली त्रिपानी पर्यटक पूर्वाधार विकास गर्नुपर्छ भन्ने उद्देश्यले डीपीआर निर्माणको काम अगाडि बढिरहेको छ ।  प्रसिद्ध पञ्चकोशी तीर्थस्थलमध्येको             कोटिलामा मानवनिर्मित ताल निर्माण गरेर यो नगरको सिंगो बेरोजगारी समस्या न्यूनीकरण र पर्यटन विकास मार्फत् आन्तरिक र बाह्य पर्यटकहरू भित्र्याउनु यस नगरको आर्थिक समृद्धिको एउटा मुख्य पाटो हो । यसका लागि अहिले डीपीआर निर्माण भइसकेको  छ । यसमा जनशक्तिको अभावले केही कठिनाइ अवश्य भएको छ ।

७.नगरभित्रका पर्यटकीय स्थलको विकास गर्ने के कस्ता योजना छन ?

नगरभित्र पर्यटकीय क्षेत्र निर्माण गर्नका निमित्त कोटिलामा मानवनिर्मित ताल  निर्माण गर्ने मुख्य उद्देश्य छ । विश्व सम्पदा सूचीभित्र रहेका राष्ट्रिय महत्व का मठ मन्दिरहरूलाई सम्वर्द्धन र    संरक्षण गरिनेछ । भुर्तीमा रहेको पञ्चदेवलको संरक्षण, बेलासपुर भैरव मन्दिर, गणेश मन्दिर, नारायण मन्दिर संरक्षण, किमुगाउँमा रहेका पञ्चदेवल तीर्थस्थल, श्रीस्थान जाँदा बाटोमा पर्ने पञ्चदेवलहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न यो वर्ष प्रयाप्त बजेट विनियोजन गरिएको छ । नगरभित्र रहेको ऐतिहासिक कोतगढी संरक्षण र संवर्धन गरी पर्यटकीय क्षेत्र व्यवस्थापन गर्ने योजना गरिरहेको  छु । नारायण नगरपालिका, दुल्लू  नगरपालिका र भैरवी गाउँपालिकाको सिमानामा रहेको ऐतिहासिक ज्वाला क्षेत्रलाई मुख्य पर्यटकीय क्षेत्र निर्माण गर्ने योजना छ । दैलेखको शिरिस्थानमा रहेको पेट्रोलियम पदार्थ उत्खनन् गर्न सरकारको ध्यानाकर्षण गर्नेजस्ता कामहरूको  बारेमा पनि पहल भएको छ ।

८.यो एक वर्षमा नगरबासीले गर्व गर्न सक्ने काम के–के गर्नुभयो?

नगर समृद्ध बनाउनका लागि हामीले आधारभूत तहबाट बस्ती स्तरदेखि उनीहरूको आवश्यकताका आधारमा जनताको चाहाना के हो ? ती समुदाय को चाहनाअनुरूप आयोजनाहरू छनौट गरेर ल्याएका छौँ । चुनावमा जाँदा हामीले जनता सामु वाचा पनि गरेका थियौँ । ती सबै वाचा नगर समृद्ध बनाउनका लागि गरिएका हुन् । नागरिक हरूले आवश्यकताका  आधारमा गरेका मागहरू निर्माण गर्दा टुक्रे आयोजना हरूका माग अलि धेरै भए यो वर्षबाट ठोस उपलब्धिमूलक काम गर्नको लागि सुशासन र पैरवीका क्षेत्रमा पनि बजेट विनियोजन गरेका छौं । गत वर्षको बजेटले नगरपालिका भित्रको मुख्य सडक पूर्ण रुपमा पक्की हुने देखिएको छ । यो वर्षबाट थप पूर्वाधार विकासका लागि ४ करोड आर्थिक विकासका लागि करिव ३ करोड रकम विनियोजन गरिएको छ । यो वर्षबाट बल्ल विकासका गतिविधिहरु थप प्रभावकारी भएर अगाडी बढ्ने छ  ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com