गजव छ – महावु महिमा
हजारौं तिर्थयात्रीहरु माहावु पुगे
(शाके ११३७ ताका दैलेख, भूर्तीगाउँका गंगोत्रीय आचार्य ब्राहमणका बोल्न नसक्ने छोरा चलु आचार्यले अहिले शिबलिङ्ग रहेको स्थानको ढुंगामा काँचो दूध चढाउनु शिवको दर्शन मिल्नेछ भन्ने सपना देखेपछि लामो समयसम्म दूध चढाएपछि शिव दर्शन पाई वेद पढ्नसक्ने भएको किंवदन्ती अहिलेपनि कायमै रहेको छ ।“बर्षभरी हुने अन्न अभाव हटाउन, गाईबस्तु र मानव जीवनको अकाल मृत्यु बचाउनका लागि शिवको भब्य पुजापाठ गरिन्छ । एउटामात्र वर मागे पुरा हुने बिश्वास अहिलेपनि कायमै छ ।” )
बिष्णु शर्मा
दैलेख साउन ३२ ।
काँधमा त्रिसुल बोकेर शिवको महिमा गाउँदै अधिकाँस पैदल, कोही जीप अनि कोही मोटरसाईकलमा महावुधाम पुगेका छन् ।
भुर्तीका आचार्य ब्राहमणहरु बुधवार बिहानै अर्थात आज पुजा हुने दिन हिडेर शिव उत्पती भएको स्थानमा पुग्न सक्ने अन्य यात्रुलाई दुई दिनको यात्रा गर्नुपर्ने महावुको महिमा गजव छ । समुन्द्र सतहदेखि ४ हजार २ मिटर उचाईमा लाग्ने महावु धाम धार्मिक मेला आजबाट सुरु भएको छ ।
मेला भर्नका लागि नेपाल र भारतबाट हजारौं तिर्थालुहरु दैलेख सदरमुकाम हुँदै महावु पुगेको स्थानीय पुजारी नरेन्द्र आचार्यले जानकारी दिएका छन् । मध्यपश्चिमक्षेत्रकै धार्मिक आस्थाको केन्द्रको रूपमा रहेको कालीकोट र दैलेख जिल्लाको सीमानास्थित महावुगाथ निकै रमणिय स्थानमा रहेको छ । महाबुगाथ नेपालकै प्रसिद्ध धामको रुपमा परिचित भएकै कारण यो बर्ष धार्मिक तिर्थालुहरु ह्वात्तै बढेका छन् ।
दैलेख सदरमुकामबाट दुई दिनको पैदल यात्रा पश्चात पुग्न सकिने महावु गाथमा यो बर्षदेखि उनीपाटासम्म साना जीपहरु संचालनमा आएपछि अधिकाँस तिर्थालुहरुले जीप बुकिगं गरेर
मेला भर्न गएका छन् ।
दैलेख सदरमुकाम, सुर्खेत र नेपालगंजबाट दैलेख हुँदै एक बढी जीपहरु यो बर्ष महावुका लागि मंगलवार साँझ सम्म उनीपाटा पुगेको उनीपाटाका स्थानीय व्यापारी रामबहादुर सिंहले जानकारी दिएका छन् । महावु पुग्नका लागि जुम्ला, हुम्ला, मुगु, कालिकोट लगायतका जिल्लाहरुबाट समेत ठूलो मात्रामा धार्मिक तिर्थालुहरु आउने गरेका छन् । मौसमले राम्रो साथ दिएकोले धेरै यातायातका साधानहरुमा भक्तजनहरु आएको र सयौं मोटरसाईकलहरु समेत उनीपाटामा पुगेको सिंहले बताए ।
महाबुगाथमा प्रत्येक वर्ष जनै पूर्णिमाको अवसरमा २ दिन अघिदेखि पाँचदिनसम्म ठूलो मेला लाग्ने र विशेष पूजापाठ हुने गर्दछ । चुर्तुदशीका दिन बिशेष पुजापाठ गरिन्छ । वार्षिक पूजाका अवसरमा दैलेख, कालिकोट, जुम्ला, हुम्ला, मुगु, जाजरकोट, रुकुम, बाँके तथा भारतबाट पनि ठूलो संख्यामा धार्मिक तिर्थयात्रीहरु पुग्ने गर्दछन् । चिसो लेकाली भू–भाग भएकोले महाबुगाथका तिर्थयात्रीहरु न्यानो लुगासँगै काँधमा त्रिशुल बोकेर भजनकिर्तन गर्दै उकालो लाग्ने गर्दछन् ।
महाबुगाथ रहेको स्थान निकै रमणिय पाटन क्षेत्र र सम्म परेकोले यहाँ दैलेख, कालिकोट, जुम्लालगायतका स्थानबाट भैसी, भेँडाबाखा्र चराउने उद्देश्यले गोठालाहरु गोठ निर्माण गरेर बस्ने गर्दथे । शाके ११३७ ताका दैलेख, भूर्तीगाउँका गर्गगोत्रीय आचार्य ब्राहमणका बोल्न नसक्ने छोरा चलु आचार्यले अहिले शिबलिङ्ग रहेको स्थानको ढुंगामा काँचो दूध चढाउनु शिवको दर्शन मिल्नेछ भन्ने सपना देखेपछि लामो समयसम्म दूध चढाएपछि शिव दर्शन पाई वेद पढ्नसक्ने भएको किंवदन्ती अहिलेपनि कायमै रहेको छ । टुँगा फुटेर ढुँगाकै शिवलिगं उत्पती भएको स्वरुप अहिले पनि देख्न सकिन्छ । दैलेखको नारायण नगरपालिका ३ भूर्ती र खुर्सानी बारीका गर्गगोत्रीय आचार्य ब्राहमणहरुले भैसीको काँचो दूध लगेर चढाएपछि मात्र कालिकोट र दैलेखका अन्य ब्राहमणहरु द्धारा पूजापाठ सुरु गरिन्छ । महाबुगाथमा पुजा गर्दा अभिलेखसहितका चाँदीका तीनवटा आशागुर्जा, काठका प्रतिकात्मक मुर्ति, गरुढसहितको चाँदीको पंचबाला तथा अन्य बहुमुल्य बस्तुहरु बिशेष पुजाका बेलामा मात्र निकालिने गरिन्छ ।
बर्षभरी हुने अन्न अभाव हटाउन, गाईबस्तु र मानव जीवनको अकाल मृत्यु बचाउनका लागि शिवको भब्य पुजापाठ गरिन्छ । एउटामात्र वर मागे पुरा हुने बिश्वास अहिलेपनि कायमै छ ।
आज पुजापाठका लागि गएका भक्तजनहरुले मुख्य मन्दिरको करिव ४ सय मिटर टाढैदेखि बुकी झार सहित मुखमा घाँस च्याप्ने चलन अहिलेपनि कायमै छ भने दाम्लो बाँधेकै स्थानमा मरेका पशु चौपायाहरुको मोक्ष प्राप्तिका लागि किसानहरुले आफ्नो घाँटीमा दाम्लो बाँधेर पूजापाठ गर्ने प्रचलन पनि कायम नै रहेको देखिन्छ ।
नवोलेरै शिबलिङ्ग भएको स्थानलाई सबै तिर्थयात्रीहरुले सातपटक सम्म परिक्रमा गर्ने गर्दछन् ।
महावु नजिकैको दमौडा भन्ने स्थानमा महावै (महाभय) र जगन्नाथको ठूलो पूजा हुने गर्दछ । भगवान् शिवको उत्पत्ति भएको शिवलिङ्गमा दैलेखका आचार्य र कालिकोटका ब्राहमणहरुले प्रत्येक वर्षको पूर्णिमा पूजामा दूधको धारासँगै पूजापाठ गरेपछि मात्र देशभरिका अन्य स्थानहरुमा रहेका देवी देवताहरुको पूजा हुने प्रचलन अहिलेपनि कायम रहेको लोमन काफ्लेले जानकारी दिएका छन् ।
महावु धाम जाँदा बाटोमा पर्ने ईटको उकालो, छान्ना, दशरथे, भावसैनी, नाउली उनीपाटा, हुँदै लिस्नेको उकालो सम्मको यात्रा सम्पन्न गरेपछि निकै रमणिय फाँटहरु देखिन्छन् । न सामात्ने हाँगो , न गतिलो गरी टेक्न मिल्ने पकारको साँगुरो ९० डिग्रीको उकालो बाटोमा बालक, वृद्ध, महिला, पुरुष सबैले सहजै यात्रा गर्दै आएका छन् । महाबु जगन्नाथको कृपाका कारण अहिलेसम्म उक्त बाटोमा कुनै दुर्घटना नभएको जानकारहरु बताउँछन् ।












