Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

राजा महेन्द्र पछिको आत्मबल ओलीमा देखियोः सौरभ

         ||   283 Views   ||   Published Date : 7th June 2016 |

केपी ओली कुनै समय एमालेभित्रका अल्पमतको प्रतिनिधित्व गर्ने असन्तुष्ट नेता थिए । उनलाई माधव नेपाल र झलनाथ खनालले ‘ब्राकेट हालेर शक्तिमा आउनबाट पटक–पटक रोके । तर, त्यो ब्राकेटलाई तोडेर ओली एमालेको मात्रै नभएर राष्ट्रिय राजनीतिको केन्द्र भागमा आइछाडे ।
ओली केन्द्रमा आएपछि नेपाली राजनीतिको रुपरेखा फेरिएको छ । अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको दवाव र हस्तक्षेपलाई अटेर गरेर अघि बढ्ने आत्मविश्वास मुलुकले आर्जन गरेको छ । म यसलाई नेपालको वैदेशिक नीतिको ठूलै टर्निङ प्वाइन्ट मान्छु । ओलीले दक्षिण छिमेकीसित टक्कर गरेर उसलाई थर्काउँदै छन् । यो सिंगो देशका लागि सुखद आश्चर्य हो । मैल ओलीबाट यति अपेक्षा गरेको थिइनँ । हाम्रै पालामा कुनै नेताबाट यस्तो होला भन्ने अनुमान गरेको थिइनँ ।
राजा महेन्द्रको शासनकालयता पहिलोपटक यस्तो भएको छ, जहाँ भारतले नचाहेका कुराहरु नेपालमा भइरहेका छन् । ओलीको पर्फमेन्स भनेको राजा महेन्द्रको कार्यकालपछि नेपालको फरेन पोलिसीमा ठूलो टर्निङ प्वाइन्ट हो । महेन्द्र पनि बरु २२ सालपछि भारतसँग थाकेका। थिए ।
संविधान निर्माणमा केपी ओलीको निणार्यक भूमिका रह्यो, अपितु त्यतिबेला उनी प्रधानमन्त्री बनिसकेका थिएनन । संविधानमा संघीयता र धर्मनिरपेक्षता जस्ता जनताले नरुचाएका विषयवस्तुहरु थिए, तर त्यसो हुँदा हुँदै पनि संविधान घोषणा हुनु नेपालका लागि धेरै दृष्टिले महत्वपूर्ण थियो । अहिले पछाडि फर्केर हेर्दा के महसुस हुन्छ भने त्यतिबेला संविधान घोषणा नभएको भए नेपालको सार्वभौमिकता माथि नै प्रश्न खडा हुने रहेछ । भारतले नेपालको संविधान कहिले पनि बन्न नदिने रहेछ भन्ने अहिले बुझिदैछ ।
संविधानमा भारतको अरु कारणले असन्तुष्टी हो भन्ने मलाई लाग्दैन । भारतलाई नसोधि जून १६ बुँदे यहाँका दलहरुले गरे, असन्तुष्टिको चुरो त्यही नै हो । सिमांकन, समानुपातिक प्रतिनिधित्व, नागरिकता जस्ता मुद्दाहरु देखाउने दाँत हुन् । १६ बुँदेले भारतको अहम्मा धक्का लागेको छ । त्यसको प्रतिशोध खोज्दै जाँदा उ फस्दै गएको हो ।
ओली सही दिशामा
अहिलेका ओली भनेको समकालिन सबै नेताहरुभन्दा लामो भिजन भएको नेताको रुपमा मैले पाएको छु । उनी एक स्टेप पछाडि हटेर दुई स्टेप अगाडि बढ्ने सोच राख्छन । अनेक कमजोरीका बाबजुद पनि उनी अहिलेको समयमा नेपाललाई आवश्यक सबैभन्दा उपयुक्त पात्र हुन। यतिबेला माधव नेपाल पाराको ‘मिडियोकर नेतृत्वले देश हाँक्न सक्दैन । एग्रेसिभ एटिच्युड नै चाहिन्छ ।
यति प्रशंसा गर्नुपर्ने गरी ओलीले के गरे त भन्ने प्रश्न उठ्न सक्छ । मेरो विचारमा उनले राष्ट्रनिर्माणको जग खन्ने काम गरेका छन् । यो बाहिरबाट नदेखिने तर अत्यन्तै महत्वपूर्ण काम हो । उनी प्रधानमन्त्रीको कुर्सीमा बसेको एक वर्ष पनि भएको छैन । यो अवधिको सबैभन्दा ठूलो उपलब्धि भनेको भारत र चीनसँगको सम्बन्धलाई सन्तुलनमा ल्याउने काम भएको छ । भारतसँग आवश्यकताभन्दा नजिक र चीनसँग आवश्यकताभन्दा टाढा थियो नेपाल । ओलीले दुवै देशको भ्रमण गरे । भारतसँग विगतका प्रधानमन्त्रीले जस्तै नाजायज सम्झौता गर्लान कि भन्ने भय थियो, ओलीले त्यो गरेनन । चीनसँग आवश्यक सम्झौता नगर्लान कि भन्ने चिन्ता थियो । तर उनले गरेर देखाए ।
चीनसँग गरिएको पारवहन सम्झौता र पेट्रोलियन आयातसम्वन्धि समझदारी नेपालका अभूतपूर्व उपलब्धि हुन । भोली ओली प्रधानमन्त्री पदमा भए पनि नभए पनि यो सम्झौतामा टेकेर नेपालले भारतमुखी अर्थतन्त्रबाट त्राण पाउन सक्छ । त्यसैले म भन्छु ओलीको विदेश नीति ह्याण्डलिङ बहुआयामिक र दुरगामी छ ।
ओली सही ठाउँमा छन भन्ने अरु उदाहरणहरु पनि म दिन सक्छु । उनले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण रद्द गराए । यो एउटा ठूलो सन्देश दिएका हुन उनले । १० वर्षसम्म भारतका प्रधानमन्त्री नेपाल आएनन । मनमोहन दुई कार्यकाल प्रधानमन्त्री हुँदासम्म एकपटक नेपाल नटेक्दा पनि भयो । हामीले बोलाउँदा उनीहरु नआए पनि हुने, अनि हामीले चाहिँ टाउकोले टेकेर जानुपर्ने कहाँको नियम छ ? जे भयो सही भयो ।
भारतीय राजदूत फिर्ताको घटनालाई पनि म समर्थन गर्छु । राजदूत भनेको एउटा उच्च महत्वको तटस्थ जिम्मेवारी हो । कसैको पोलिटिकल करिअर सकिन लाग्यो भनेर त्यहाँ लगेर डम्प गर्ने होइन ।
विगतमा अलिकति ‘लेफ्ट लिनिङ” भएको मोहनमान सैंजुलाई अमेरिकाले एग्रीमो पठायो । भारतपट्ट िझुकाव भएका यदुनाथ खनाललाई चीनले एग्रिमो पठायो । भारतलाई चाहिँ उसैको मान्छे किन चाहिने ? लोकराज बराल, दुर्गेशमान सिंह, रुक्मशम्शर नै किन चाहिने ? त्यसैको कन्टिन्यूटी थियो दीपकुमार उपाध्यायको नियुक्ती । उसले अह्राए–खटाएको काम नै गर्ने हो भने किन राजदूत पठाउने ? यस्ता मान्छे पठाउनुभन्दा नपठाउनु नै ठीक हो ।
सरकारले जे आशयले निर्णय लिएको भए पनि म राजदूत फिर्ताको स्वागत गर्दछु । एउटा राजदूतले दुई देशबीच कसरी सेतुको भुमिका खेल्नुपर्छ भन्ने उदाहरण महेश मास्के छन । दीपकुमारसँग त्यस्तो क्षमता, ल्याकत देखिएन । राजदूतमा उनको नियुक्ती नै ठीक थिएन । तीन वर्षदेखि दिल्लीको राजदूत हुन आफैं धाउने, सुशील कोइरालाले जबरजस्ति बनाइदियो भन्दै हिँड्ने ?
सरकारले अहिलेसम्म चमत्कारै गरेको छ त म भन्दिन, तर ओलीले जे गर्दैछन ठीक छ ।
ओली भारत जाँदा राष्ट्रहित विरोधि सम्झौता होलान् कि भन्ने त्राश थियो, त्यो भएन । चीन जाँदा देश हितका सम्झौता नहोला कि भन्ने चिन्ता थियो । त्यो भयो । हामीले आशै नगरेको पारवहन सम्झौतासम्म भएको छ भने नेपालमा पेट्रोल ल्याउने समझदारी भएको छ ।
म बुद्ध सर्किटको समर्थक वा हिन्दु सर्किटको समर्थक होइन । लुम्बिनीमा एयरपोर्ट बनाएर पर्यटनबाट नेपालले आम्दानी गर्न नसकोस भनेर इन्डियाले एयरपोर्ट निजगढमा सार्न लगाएको हो । त्यसलाई गया र सारनाथसँग जोड्ने योजना हो । ओली सरकारले आन्तरिक बुद्ध सर्किट भनेको छ, रामग्राम कपिलवस्तु जोड्ने गरेर । त्यो अनपेक्षितरुपमा मलाई राम्रो लाग्यो । मैले सोचेको थिइन, यत्तिको भिजन ओलीसित होला भन्ने ।
अर्को कुरा फास्ट ट्रयाक नेपाल आफैंले बनाओस भन्ने चाहना थियो । इन्डियालाई यो दिनु भनेको हाम्रो सार्वभौमसत्ता दिनु जस्तै हुन्थ्यो । टनकपुर, गण्डक, कोशीमा उसको सिपाही राखेजस्तै हाम्रो फास्ट ट्र्याकको रक्षा गर्ने नाममा उसका सिपाही आउँथे । त्यसैले नेपालले नै बनाउनुको अर्थ कुटनीतिकरुपमा इन्डियालाई नदिने भनिएको हो । यो ठीक छ ।
यथार्थको तराजुमा ओलीको बोली
प्रधानमन्त्री भएको दिनदेखि नै एकथरीले उनीविरुद्ध कोकोहोलो सिर्जना गरिररहेका छन, मुलतः उनका अभिव्यक्तिहरुलाई लिएर । तर म ओलीका अभिव्यक्तिमा कुनै समस्या देख्दिन । ओलीले बोलेका कुराहरु महत्वाकांक्षी छन, तर असम्भव छैनन । उनले जे जति कुराहरु बोलेका छन, यथार्थको धरातलमा टेकेरै बोलेका छन ।
ओलीले एक पछि अर्को महत्वाकांक्षी भाषा बोलिरहनुका धेरै कारण होलान । यसको रणनीतिक पक्षलाई पनि हेर्नुपर्छ । हुन सक्छ उनी आफ्ना भाषणमा विरोधिहरुलाई अल्मल्याएर कुनै गम्भीर मिसन फत्ते गर्न चाहन्छन ।
बोल्दा जुन भाषा शैली प्रयोग भयो त्यो अलिकति वजनदार भनिएन कि भन्ने मात्रै हो । साह्रै क्याजुअल भाषामा गर्दा मान्छेलाई उडाउने मसला बनेको हुन सक्छ । पानीजनहाजको कुरा गर्ने हो भने विगतमा २२ दिन नेपालको पानीजहाज कलकत्ता पोर्टमा बसेकै हो, नरेन्द्रलक्ष्मी नामको । रोयल नेपाल सिपिङ कर्पोरेसन रवीशम्शेरको अध्यक्षतामा निर्माण भएको थियो । बहादुरभवनमा त्यसको अफिस थियो ।
पानीजहाजको पहिलो किस्ता तिरेको हो, दोस्रो एजेन्टले खायो र तेस्रो तिर्न नसकेपछि नेपाली लगानीकर्ता डुबेको हो । त्यतिबेला पानीजहाज सञ्चालनका लागि पाराद्विप आइल्याण्ड लिजमा लिन खोजिएको पनि हो । पाराद्वीप आइल्याण्डमा नेपालले पोर्ट बनाउन चाहेको थियो ।
त्यसो त मरिचमानको पालामा नेपालमै पानीजहाज ल्याउन सकिन्छ कि भनेर अध्ययन पनि भएकै हो । गंगाको पानीको उचाई केही गरी बढ्यो भने हाम्रा खोलाहरुको पनि उचाई बढ्छ र त्यतिबेला नारायणी घाटसम्म कम क्षमताको पानीजहाज ल्याउन सकिन्छ भन्ने थियो । बे अफ बंगालबाट नारायणीसम्म पानीजहाज ल्याउने कुरा अहिले पनि सम्भव छ । साइन्समा एउटा फर्मुला प्रमाणित भएपछि त्यो त जहिले पनि काम लाग्छ नी ।
नेपालले पानीजहाज सञ्चालन गर्दा भारतसितको पारवहन सन्धिले छेक्न सक्छ भन्ने कुराहरु आएका छन । छेक्छ पनि होला । तर यसको समाधान निकाल्न नसकिने होइन । पारवहन सम्झौतालाई परिमार्जन गर्न नसकिने होइन । भारतले इरानबाट पेटोलको पाइपलाइन पाकिस्तानको बाटो भएर ल्याउदैछ । जबकि पाकिस्तानसँग भारतको डरलाग्दो झगडा छ नी । रुसको सिंगै यूरोपसँग कुरा मिल्दैन । रुसको पेट्रोल पाइपलाइन यूरोपमा गएको छ । लिबियाको मेडेटेरियन समुद्रबाट झारेर यूरोपमा ४ वटा पेट्रोल पाइपलाइन पुगेको छ । पारवहनको कुरा संसोधन हुन सक्छ । वैज्ञानिकरुपमा ‘भायवल” कुरा हो ।
काठमाडौं उपत्यकाभित्र ग्यास छ भनेर पत्ता लगाएको मोहनध्वज बस्नेतले हो तर, क्रेडिट जाइकालाई गयो । टेवहालका मोहनध्वज भागलपुरबाट इन्जिनियरिङ गरेका वैज्ञानिक हुन । त्यतिबेला काठमाडौंलाई ५० वर्षलाई पुग्ने ग्यास छ भन्ने थियो । त्यसमा धेरै उडेर गयो होला । त्यो बेलामा सिस्टम विकास गरिएन । पेट्रोल अन्वेषणमा आएको डच कम्पनीलाई इन्डियाले भगाएको हो भन्ने कुरा मिडियामा आइसकेको छ । सम्भावना देखेको भएरै इन्डियाले भगाएको न हो ।
यद्यपि पेट्रोल उत्खनन गर्ने कुरा प्रधानमन्त्रीले सोचेजस्तो चाँडो नहोला । उहाँले दुई वर्षमा उत्खनन गर्छौं भन्नुभएको छ । तर, पेट्रोल निकालेर मात्रै भएन, रिफाइन गर्नुपर्रुयो । रिफाइन कहाँ गर्ने ? नेपालमा रिफाइनरी स्थापना गर्ने कुरा टाढाको हो । प्राविधिक रुपमा पनि कठिन छ । इन्डियाले रिफाइन गरिदिँदैन । वार फुटिङमा चीनले गरिदियो भने हो । त्यछि छिटो सम्भव छैन ।
चीनबाट रेल ल्याउने कुरा आजभन्दा २० वर्ष अगाडि हुन थालेको हो । सिंगापुरबाट बेइजिङसम्म आठ हजार किलोमिटर रेल्वेको योजना लि क्वान यू र चाइनाले मिलेर गरेको मैले पढेको छु । असम्भव केही छैन । २० मिलिग्रामको १०० वटा रकेट बनाएर ३० वर्षभित्र बाहिरको प्लानेटमा छोड्ने कुरा आइरहेको छ, जसको दुईवटा विङ डेढ डेढ मिलिग्रामको हुन्छ । पिटर हकिन्स र एल्बिन आयल्ड्रीन (१९६९ मा एपोलो ११ मा चन्द्रमा ल्याण्ड गर्ने व्यक्ति) ले भनेका छन, छिटोभन्दा छिटो मंगल ग्रहमा बसाई सरौं । असम्भव के छ ?
मलाई ओलीले भनेको कुनै कुरा केटाकेटी लाग्दैन । कुनै पनि वैज्ञानिक सोच राख्ने मान्छेले भविष्यमा यो हुँदैन भन्नु हुन्दैन । भविष्यमा जे पनि हुन सक्छ । स्याटेलाइट त भयो । म यसलाई असम्भव देख्दिन । नेपालीमा कन्फिडेन्स नभएको मात्र हो ।
ओलीविरुद्धको चक्रव्यूह
ओलीको मुख्य चुनौति के छ भने देशमा उनीविरुद्ध माहोल खडा गर्न खोजिएको छ । अरु पार्टी मात्र होइन, आफ्नै पार्टीभित्र दुश्मनहरु छन । पहिलेदेखि २ जना उभिएर बसेका छन । सबैभन्दा खतरा माधव नेपाल छन । यद्यपि, ओलीको हाइट पार्टीको नेताभन्दा धेरै माथि उठिसकेको छ । माधव नेपाल उनको अगाडि बाउन्ने भइसकेका छन । तर बेला–बेला भकुण्डे भुत जसरी तर्साउछन ।
आफ्नो पार्टीमा पूरा पकड भए ओलीले धेरै कुरा नबोलेर पनि काम बन्थ्यो । तर, त्यसो नभएकाले बोल्नुपर्ने स्थिति छ । उनले नचाहेर पनि बोल्नुपर्ने स्थिति छ । तर उनको बोलीलाई साथ दिने खालको ब्यूरोक्रेसी छैन । ब्यूरोक्रकेसीमा ट्रेड युनियनिज्म हावी छ । सरकारले पोलिसी बनाउछ । संसदले कानून पास गरेर लागू गर्न भनेर सरकारलाई दिन्छ । तर, सरकारलाई ब्यूरोक्रेसीले हेल्प गर्दैन । ट्रेड युनियनिज्म नभएकाले नै अमेरिका बनेको हो । टे्रड युनियनिज्मले हाम्रो देश बन्न दिइरहेको छैन । ओलीजस्तो मान्छेलाई बडो गाह्रो छ ।
सरकार परिवर्तनको चर्चा जबरजस्त रुपमा चलाइएको छ । तर यतिबेला कांग्रेसको ‘फेस अफ” भएको अवस्था छ । उ जनतामाझ चरम अलोकप्रिय छ । उसँग कुनै बलियो एजेन्डा छैन । अर्को शक्ति माओवादी न यता न उताको अवस्थामा छ । माओवादीले साथ दिन छोड्यो भने सरकार ढल्ने हो । तर उसले सजिलै सरकार ढाल्न सक्दैन । माओवादी इन्डियाको नजिकै हुन सकेको छैन । चीनले उसलाई विश्वास गरिसकेको छैन । यतिबेला सरकार साथ छाड्यो भने माओवादी कसैको पनि विश्वसनीय हुन्न । न भारतको न चीनको न नेपाली जनताको । माओवादी कहिँको पनि रहन्न । त्यसैले पनि सरकार छाड्नुअघि माओवादीले हजारचोटी सोच्नुपर्छ ।
ओलीलाई हटाउन र भाँडभैलो मच्चाउन इन्डियाले रोल खेल्छ र खेलिरहेको छ । हामीले कल्पना गरेको भन्दा धेरै गुणा नराम्रो रोल पनि खेल्न सक्छ भविष्यमा । उसले कुने लाज मान्दैन । त्यसको सामना गर्न हामीलाई मुस्किल हुन्छ ।
तर, मलाई लाग्छ त्यस्तो परिस्थितिमा सारा नेपाली जनता एकजुट हुन्छन । ओलीलाई सबैले साथ दिन्छन । अन्त्यमा भारतले सक्दैन । छिमेकीहरुसँग दुश्मनी राखेर विश्वको नेता हुन सकिदैन भन्ने इन्डियनहरुले रियलाइज कहिल्यै गरेनन, अब गर्छन कि ?
यतिबेला ओलीविरुद्ध रचिएको चक्रव्यूह स्वभाविक नै हो । नेपालभित्र अरुको लहैलहैमा दौडिने एउटा तप्का छ । एउटाले ओलीलाई उडाएर लेख्यो भने म पनि केही लेखिदिउँ न भन्ने खालको । यो एक किसिमको मास साइकोलोजी हो । तर, यो त्यति हानीकारक छैन । हानिकारक छ, मिडियालाई प्रयोग गरी सरकार ढाल्न भइरहेको प्रायोजित खेल ।
महेन्द्रपछि ओलीको आत्मबल
ओलीको खास पृष्ठभूमि कस्तो हो म भन्न सक्दिन । उनी विगतमा भारतसँग नजिक थिए भन्ने आरोप लाग्छन । त्यसै आरोप लागेन होला । हावा नआइकन पात हल्लिदैन । तर, जसले पनि आफूलाई सच्याउन पाउँछ । ओलीले पनि सच्याएका छन । देशप्रतिको कर्तव्यवोध गरेका छन ।
नेपाललाई सार्वभौमसत्ताविहिन बनाउने भारतीय योजना ओलीले तुहाएकै हो । त्यसैले इन्डियासँगको सम्वन्ध अहिले कम्प्लेक्स मोडमा पुगेको छ । भारतलाई यसरी हल्लाउने ओलीले लिएको अभिव्यक्तिलाई कुनै पनि सचेत नागरिकले उखान टुक्का भनेर उडाउन मिल्दैन ।
तनावपूर्ण राजनीतिका बीच ओली अहिलेसम्म अडिएको भनेको आफ्नो आत्मबलले गर्दा नै हो । उनको आयू लम्ब्याउने मुख्य औषधि नै आत्मबल हो । यस्तो आत्मबल धेरै ठूलो कालखण्डमा आउँछ । विगतमा यस्तो आत्मबल महेन्द्रमा देखिएको थियो । महेन्द्र स्कुल कलेजमा पढेका होइन । घरेलु शिक्षा प्राप्त हुन । उनीसँग पैसा थिएन, सोहोरेर सबै राणाले लगेका थिए । अर्काले छोडेको सिस्टममा हात हाल्नु परेको थियो । को आफ्ना हुन र को होइनन थाहा थिएन । नजिकको छिमेको सहयोगी थिएन । अर्को छिमेकीसँग दुरी थियो । त्यो महासंकटमा प्रकृतिले दिएको ‘सिक्स्थ सेन्स” र भगवानले दिएको आत्मविश्वासलाई फ्यूजन गरेर बनेको मनोबल महेन्द्रमा थियो । त्यो अद्भुत थियो । महेन्द्रभन्दा अघि जंगबहादुरको मनोबल थियो । आफू सात जना दाजुभाई मिलेर कोतमा भएका सबै मान्छे काट्छु भन्नु कम ठूलो कुरा होइन । ६२र६३ मान्छे कोट्दा आफ्नो परिवारको पनि ज्यानको सवाल थियो । आफूले पो हतियार लुकाएको छ त, अर्कोले पनि लुकाएको थियो भने के हुन्थ्यो ? कि पृथ्वीनारायण शाहको थियो मनोबल । चार सय मान्छे लिएर किर्तिपुरमा आक्रमण गर्न आएका हुन । जबकि किर्तिपुरको जनसंख्या ६ हजार थियो । आफू फेदमा बसेर लड्नु भनेको दुस्साहस हो । माथिबाट ढुंगै गुडाए पनि पुग्छ । त्यसै भएको होइन त्यो । ओलीका दुर्गुण पनि छन । उनी अझै पनि एउटा सानो घेरोभित्र कैद छन जस्तो बुझिन्छ । धेरै मान्छेसँग आइडिया सेयर गर्दैनन र अरुका कुरालाई महत्व दिँदैनन । मैले सुनेअनुसार ओलीले नेपालमा बाबुराम आचार्य बाहेक अरु कसैलाई मान्छे नै गनेका छैनन । उनको यो अज्ञानताभन्दा पनि अहम हो । तर अहम भनेको काहिलेकाहीँ शक्ति पनि भइदिन्छ । महादेवले विष पिउनु पनि अहम थियो । त्यो आत्मविश्वासले पिएको हो । हेरौं ओलीको अहम्ले के–कति काम गर्छ ।
(कुराकानीमा आधारित साभार) Onlinekhabar…

Share This:

Find us on Facebook

One Response to राजा महेन्द्र पछिको आत्मबल ओलीमा देखियोः सौरभ

  1. dipendratiruwa Reply

    August 12, 2016 at 11:22 am

    good

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com